लाइसेन्सको ट्रायल तिहार पछि, जनता लाइसेन्स बिनै सवारी कुदाउन बाध्य

विभागका अनुसार लाइसेन्सको प्रक्रिया नियमित हुँदा देशभरिमा दैनिक करिब ७÷८ हजार जनाभन्दा  बढीले ट्रायल दिने गरेका थिए । ट्रायल पास, नवीकरण गरि दैनिक लाइसेन्सको माग ४ हजार हुने गरेको थियो । अहिले ट्रायलको लिखित र प्रयोगात्मक दुवै परीक्षा रोकिएका छन् ।


सवारी चालक अनुमतिपत्र लिनका लागि लिखित र प्रयोगात्मक परीक्षा दिन चाहनेले अझै केही समय कुर्नुपर्ने भएको छ । करिब ७ महिनादेखि बन्द रहेको लाइसेन्सको ट्रायल तिहारपछि मात्रै  खुल्ने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले तिहारअघि खोल्न सक्ने अवस्था नभएको बताएका छन् ।

उनका अनुसार तिहारपछि खोल्ने तयारी छ । कोरोना संक्रमणको दर बढेर अवस्था असहज बन्यो भने मिति त्यसबाट पनि केही पछि पनि धकेलिन सक्नेछ । कोभिड–१९ को संक्रमण फैलन रोक्न चैत ११ गतेदेखि देशव्यापी रूपमा लकडाउन भएको थियो । सोही दिनदेखि बन्द रहेको लाइसेन्सको ट्रायल अझैसम्म खुला गरिएको छैन ।

ट्रायल नहुँदा पनि यातायात कार्यालयहरुमा भीडभाड उत्तिकै छ । सवारी दर्ता,नवीकरण र नामसारी लगायतका कामहरू भइरहेको छ । यातायात कार्यालयहरुलाई सरकारले डिजिटल नबनाउँदा सेवाग्राहीले पुग्नैपर्ने बाध्यता हटेको छैन । त्यसैले जहिल्यै भीडभाड हुने गर्छ ।

सेवाग्राहीको चाप भइरहने भएकाले यातायात कार्यालयका कर्मचारी कोरोना संक्रमणको उच्च जोखिममा छन् । हमालका अनुसार कार्यालयहरुमा दरबन्दीभन्दा कम संख्यामा कर्मचारी छन् । त्यसमा पनि केहि कर्मचारीहरु कोरोना पोजेटिभ देखिएका कारण आइसोलेसनमा छन् । त्यसैले काम ढिला हुने गरेको छ ।

विभागका अनुसार लाइसेन्सको प्रक्रिया नियमित हुँदा देशभरिमा दैनिक करिब ७÷८ हजार जनाभन्दा  बढीले ट्रायल दिने गरेका थिए । ट्रायल पास, नवीकरण गरि दैनिक लाइसेन्सको माग ४ हजार हुने गरेको थियो । अहिले ट्रायलको लिखित र प्रयोगात्मक दुवै परीक्षा रोकिएका छन् ।

विगतमा रहेका स्मार्ट लाइसेन्सको सबै ‘ब्याक लग’ समेत सकेको हमालले बताए । लकडाउनको ६ महिनाको अवधिमा करिब ५ लाख लाइसेन्स छापेर यातायातले सबै ब्याक लग सकेको  हो ।

ट्रायल नखुलेका कारण लाइसेन्सको माग कम हुँदा विभागलाई केही सहज छ । अब ट्रायल पास गरेपछि उपत्यकामा एक साता र उपत्यका बाहिर एक महिनामा लाइसेन्स पाइने व्यवस्था मिलाइने भएको छ । देशभरिका कार्यालयहरुमा सवारीको ट्रायल हुने भए पनि लाइसेन्सको छपाइको काम विभागको मिनभवन कार्यालयमा मात्रै हुन्छ ।

यातायात कार्यालयहरुले विवरण मिनभवन पठाउनुपर्ने, लाइसेन्स छापेर पुनः कार्यालयमा पठाउनुपर्ने भएकाले एक महिना अवधि राखिएको हो ।