//

सरकारलाई विद्युतीय बस उपलब्ध गराउन ४१ कम्पनी इच्छुक

 विभिन्न ४१ कम्पनीले आफूले नेपालमा उपलब्ध गराउन सक्ने विद्युतीय बसको विवरण मन्त्रालयलाई बुझाएका छन् । विवरण बुझाउने कम्पनीमा भारतीयदेखि अस्ट्रेलियन कम्पनीसम्म छन् । त्यसमध्ये सबैभन्दा धेरै चिनियाँ कम्पनी रहेका छन् ।



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विद्युतीय बस किन्न आपूर्तिकर्ताहरुसँग मागेको आसयको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले गत असार ८ गते सार्वजनिक सूचना मार्फत विद्युतीय बसको उत्पादक र आपूर्तिकर्ता कम्पनीसँग उपलब्ध विद्युतीय बसबारे विवरण उपलब्ध गराउन भनेको थियो ।  

जसमा विभिन्न ४१ कम्पनीले आफूले नेपालमा उपलब्ध गराउन सक्ने विद्युतीय बसको विवरण मन्त्रालयलाई बुझाएका छन् । विवरण बुझाउने कम्पनीमा भारतीयदेखि अस्ट्रेलियन कम्पनीसम्म छन् । त्यसमध्ये सबैभन्दा धेरै चिनियाँ कम्पनी रहेका छन् । ४१ ब्रान्डले ५५ वटा मोडलका बसको विवरण सरकारलाई दिएका हुन् ।  

प्राप्त विवरणका आधारमा मन्त्रालयले उपयुक्त स्पेसिफिकेसन बनाएर विद्युतीय बस खरिद गर्ने योजना बनाएको छ । मन्त्रालयले तयार गरेको स्पेसिफिकेसन अनुसार बस खरिदका लागि टेन्डर आह्वान गर्नेछ । मन्त्रालयले पहिलो लटमा कति बस किन्ने भनेर टुंगो लगाइसकेका छैनन् ।

सरकारले सार्वजनिक प्रयोजनमा उपत्यकामा सञ्चालन गर्ने गरि ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको थियो ।